July 30, 2020
पोखरा, १५ साउन
पोखरा महानगरपालिका वडा नं. २३ स्थित ठूलाखेत अंधेरीखोलामा बनाइएको सिल्टेसन ड्याम हस्तान्तरण पूर्व नै भत्किएकोप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ध्यानाकर्षण गराएको छ । नेविसंघ पोखरा २३ का सभापति सुजन पराजुलीले बिहीबार एक विज्ञप्ति प्रकाशित गरेर ध्यानाकर्षण गराएका हुन् ।
करिब डेढ महिना अघि निर्माण भएको ड्याम उद्घाटन गर्ने तयारीमा हुँदै गर्दा क्षतिग्रस्त भएको हो । पिके जेभी कन्स्ट्रक्सनले ठेक्का पाएर बनाएको ड्याम सम्पन्न हुनुपर्ने समय अझै पाँच महिना बाँकी छ । वर्षाको भेलले ड्यामको पर्खाल र ढुंगा भरेको जाली बगाएको छ ।
सभापति पराजुलीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीयमा कोरोना संक्रमणको मनोवैज्ञानिक त्रास कायमै रहेको बेला ड्याममा जम्मा भएको पानीको वहाव एकै पटक फुट्यो भने धेरै जनधनको क्षति हुनेछ । यसले स्थानीयमा थप तनाव उत्पन्न भएको छ ।’
ड्यामको निर्माणमा गरिएको लापर्बाहीको छानविन गर्न समेत नेविसंघले माग गरेको छ । साथै संघले ड्याम्म फुट्दा पर्न सक्ने जोखिम बारे स्थानीयलाई सजग गराउन सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
सरोकारवाला निकायले आम वासिन्दाहरुको भवितव्यको जोखिम र क्षतिको वेवास्ता गरेमा कडा कदम उठाउने चेतावनी समेत नेविसंघले दिएको छ । वर्षाको समयमा हतारमा काम गरिएकाले यस्तो समस्या आएको संघका सभापति पराजुलीले बताए ।
विज्ञप्ति
0 Comments